
दैलेख जेठ ९ गते ।
कोरोना भाइरस कोभिड १९ को प्रकोप बढ्दै जान थालेपछि दैलेखमा पनि दिनप्रतिदिन चुनौती थपिँदै गएको छ । दैलेखका ११ पालिकामा मापदण्ड विपरीत निर्माण गरिएका ८ सय ६१ क्वारेन्टाइन एकै दिनमा भरिएका छन् ।
दैलेखका विभिन्न पालिकाका ८ सय ५० जना व्यक्तिहरू छिमेकी मुलुक भारतबाट दैलेख आएका छन् । उनीहरूलाई दैलेखको चुप्रामा लायन्स क्लब दैलेख र अन्य निकायहरुको सहयोगमा खाना खुवाएपछि आ आफ्नो पालिकामा पठाइएको छ । नारायण नगरपालिका, महावु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका ४ सय बढी व्यक्तिहरू नारायण क्याम्पसमा बसेका छन् । बिहीबार साँझ सम्म मात्रै दैलेख भित्रिएका र दैलेखबाट जुम्ला, कालिाकेट जाने करिब १ हजार २ सय जनालाई खाना खुवाएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष सोमननारायण कौशलले जानकारी दिएका छन् ।
महावु गाउँपालिकाका स्थानीयहरु लिन आएका गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले पालिकामा मात्रै ३ सय बढी व्यक्तिहरू आईसकेको बताए । पालिकाले निर्माण गरेका क्वारेन्टाईन भरिसके अव २ हजार जना आउने खबर प्राप्त भएको छ । कहाँ राख्ने कसरी व्यवस्थापन गर्ने पालिकाले नसक्ने अवस्था आईसकेको शाहीको भनाई छ ।
एक सय क्षमताको क्वारेन्टाइनमा ४ सय बढी व्यक्तिहरू क्याम्पसमा बस्नुपर्ने भएपछि स्थान अभावका कारण छतमै बसेर भए पनि रात गजारेका छन् । नारायण नगरपालिकाभित्र रहेका ११ वडाका करिब ३ सय बढी व्यक्तिहरू नारायण क्याम्पसमा बस्नुपर्ने अवस्था आएपछि असुविधा भएको भन्दै क्वारेन्टाईनमा बसेका व्यक्तिहरूले आपत्ती प्रकट गरेका छन् ।
नारायण नगरपालिका नगर प्रमुख, उपप्रमुख, कर्मचारी र सुरक्षा निकायले व्यवस्थापनका लागि निकै पहल गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि वडा अध्यक्षहरुको जिम्मामा वडा स्तरमै अस्थायी क्वारेन्टाइन निर्माण गरेर सुरक्षा प्रदान गर्ने तयारी थालेको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छन् ।
क्वारेन्टाइनमा आएका व्यक्तिहरू समेत आफू सचेत भएर बस्नुपर्ने अवस्थामा एकदमै भिडभाड गरेर बसेका छन्, सुरक्षित छैनन् कुनै एक जना व्यक्तिमा संक्रमण भएको भए, सबैलाई संक्रमण हुन सक्ने भएपछि स्वास्थ्य सुरक्षाको चिन्ता झनै बढेको छ ।
दैलेखका ५० प्रतिशत क्वारेन्टाइन मापदण्ड विपरीत

जिल्लाभर ८ सय ६१ क्वारेन्टाइन अहिले सम्म निर्माण गरिएको छ । सरस्वती मा.बि. तर्ताङ्गमा २० शैयाको आइसुलेसन अस्पताल निर्माण गरिएको छ । अहिले निर्माण भएको अस्पतालमा आठवीस नगरपालिकाका एक जना संक्रमित युवाको उपचार भइरहेको छ । दैलेखमा प्रभावकारी उपचार हुन नसक्ने भन्दै सुर्खेत लिनुपर्ने माग केही नेताहरूको भए पनि दैलेखमै राम्रो व्यवस्थापन भएकोले संक्रमितको उपचार दैलेखमै गरिएको छ । उपचारका लागि डाक्टर सहितको टोली आवासीय रूपमै आइसियु अस्पतालमा छन् ।
सदरमुकाम दैलेख बजार, दुल्लू नगरपालिका, आठवीस लगायतका कतिपय स्थानहरुमा निर्माण भएका क्वारेन्टाइन मापदण्ड अुनसार निर्माण गरिएको भए पनि ५० प्रतिशत बढी क्वारेन्टाइन मापदण्ड अनुसार बनेका छैनन् । अधिकाँसमा मापदण्ड पुग्न नसकेको अवस्थामा भए पनि भारतबाट दैलेख आउनेहरुको सङ्ख्या एक्कासि बढेपछि जे जसो गरी भए पनि सुरक्षित राख्न स्वास्थ्य कार्यालय दैलेखका डा. निरन्जन पन्तले आव्हान गरेका छन् ।
लक डाउनको अवधिभर भारतबाट १ हजार ७ सय बढी मानिसहरू एकसाता अघिसम्म आएको भए पनि पछिल्ला तीन दिनमा छिमेकी मुलुक भारतबाट १ हजार बढी नागरिकहरू दैलेख आएका छन् । अझै हजारौँ व्यक्तिहरू दैलेख आउने खबर आएको स्थानीय निकायहरुले बताएका छन् ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको स्वाब संकलनमा फिल्डमै पुगेका स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले भने “क्वारेन्टाइन भनिएको छ तर शौचालयको अभाव छ, खानेपानी अभाव छ, जसरी मानिसहरू दुरी कायम गर्नुपर्ने हो त्यसो गरेको देखिएको छैन । हामी एकै ठाउँबाट आएका हौ केही फरक पर्देन भन्दै जुल्टिएर बस्ने सम्मका कामहरू क्वारेन्टाइनमा बस्नेहरुले गरिदिएपछि झनै चुनौती थपिएको छ । ”
सुरक्षा निकाय खटाइएको छ, स्वास्थ्यकर्मीले सम्झाएका छन्, पालीकाका जनप्रतिनिधिहरुले सम्झाउँदा पनि कतिपय व्यक्तिहरूले अटेरी गर्ने गरेका छन् भने कतिपय स्थानहरुमा, भौगोलिक कठिनाइ, स्थान अभाव, बेन्च जोडेर बस्नुपर्ने बाध्यता, खानेपानी र शौचालयको समेत अभाव देखिएको छ ।
पालिकाहरुमा चुनौती
भारतमा अलपत्र परेका व्यक्तिहरूको उद्धार कार्य सञ्चालन भएसँगै दैलेखमा चुनौती बढ्दै गएको छ । दैलेखको पश्चिम क्षेत्रमा रहेका दुल्लू नगरपालिका, आठवीस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटी काँध गाउँपालिका र महावु गाउँपालिकाबाट कुल जनसङ्ख्याको करिब ४० प्रतिशत जनसङ्ख्या कामको खोजीमा भारत जाने प्रचलन छ । दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले भने “पालिकाभित्रबाट मात्रै करिब १० हजार जनसङ्ख्या भारतमा रहेको छ । अहिले आउने क्रम चलेको छ, पालिकाले कसरी थाम्ने हो चुनौती बढ्दै गएको छ । हामीले अहिले क्वारेन्टाइनमा बसेकालाई सकेसम्म मापदण्डका आधारमा रहेर हेरचाह गरेका छौँ । मानिसहरू थपिँदै गए भने चुनौतीपनि बढ्दै जाने देखिन्छ ।”
आठवीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले एक साताभित्र २ हजार ५ सय जना पालिकामा आउने खबर प्राप्त भएको भए पनि पालिकामा जम्मा १ सय २० बेडको क्वारेन्टाइन छ । बिद्यालयलाई बाध्यताका रूपमा क्वारेन्टाइन बनाउने हो । गाउँमा सर्पको उत्तिकै डर छ । विद्यालयमा रहेका बेन्च जोडेर क्वारेन्टाइन बनाउनुपर्ने बाध्यता पालिकामा रहेको उपाध्यायको भनाई छ ।
विदेशबाट २७ सय बढी जिल्ला भित्रिए स्वाब परीक्षण २ सय ५१ जनाको
दैलेखमा शुक्रवार बिहान सम्म २ हजार ७ सय बढी मानिसहरू भारतबाट दैलेख जिल्ला प्रवेश गरिसकेका छन् । उनीहरूको व्यवस्थापनमा भने चुनौती कायमै छ । अहिले सम्म स्वाब परीक्षण भने २ सय ५१ जनाको मात्र गरिएको छ । र्या्पिड टेस्ट मार्फत ८ सय ७२ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
औषधिको अभाव देखिन सुरु
स्वास्थ्य कार्यालय दैलेखले दिएको जानकारी अनुसार औषधि अभाव देखिन सुरु गरेको छ । अहिले केही दिनलाई औषधि मौज्दात रहे पनि जेठ १ गतेदेखि प्रक्रियागत रूपमा खरिद गर्नुपर्ने औषधिको प्रक्रिया थालनी तत्काल गरेर आपूर्तिकर्ताले आपूर्ति गर्ने काममा ढिलाइ गरे अभाव हुने देखिन्छ ।









